पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल
पोखरा, ४ कात्तिक । सात तालको बगैँचा शहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ ।

पोखरा, ४ कात्तिक । सात तालको बगैँचा शहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ ।
साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय गन्तव्यसँगै यस आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्दै गएको छ ।
तालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकिकृत विकास परियोजना मार्फत पूर्वाधार विकासका काम भैरहेका छन् ।
परियोजना लक्षित कामहरू सम्पन्न भएसँगै तालको संरक्षण, पर्यटकीय विकास हुँदै स्थानीयवासीको जीवनस्तर बढ्ने विश्वास लिइएको छ ।
चरणवद्ध अघि बढ्ने परियोजनाको लागत चार अर्ब ५२ करोड ८८ लाख रुपैयाँ रहेको परियोजनाका सूचना अधिकारी इन्जिनियर कृष्णबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजना अन्तर्गत जग्गा अधिग्रहणका लागि ९९५ रोपनी जग्गाको सूचना निकालिएकोमा हालसम्म ७३७ रोपनी क्षेत्रको मुआव्जा वितरण गरिसकिएको छ । हालसम्म मुआव्जा वितरणका लागि ८७ करोड ७८ लाख रुपैयाँ मुआव्जा वितरण गरिएको छ ।
मुआव्जा वितरणका साथै तालबेसीको पुल निर्माण भैसकेको छ भने सडक निर्माण कार्य भैरहेको छ । त्यस्तै जलाधार क्षेत्रमा पर्ने तीनवटा सिल्ट्रेसन ड्याम निर्माण गरिसकेको उहाँले जानकारी दिनुभयो ।
लक्षित योजना अनुसार काम सम्पन्न भई बाँध निर्माण भएपछि हाल रहेको पानी सतह ६२० मिटरबाट बढेर ६२४ मिटर हुने र तालको क्षेत्रफल हालको १२२ हेक्टरबाट बढेर १८३ पुग्ने उहाँले जानकारी दिनुभयो ।
परियोजना अन्तर्गत हालसम्म भएका कामहरूमा वित्तीय प्रगति ४२ प्रतिशत र भौतिकतर्फ ४३ प्रतिशत काम सम्पन्न भैसकेको छ ।
विसं २०३२ को नापीमा १३६ हेक्टर क्षेत्रफलमा फैलिएको ताल अहिले १०७ हेक्टरमा खुम्चिएको छ । विसं २०६४ को केन्द्रीय नापी टोलीको तथ्याङ्कअनुसार रूपातालको ८०० रोपनी क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै साविक लेखनाथ नगरपालिकाको पछिल्लो प्रतिवेदनमा रुपातालको कूल क्षेत्रफल १६३.९ हेक्टर रहेकोमा जलमग्न भाग १२१.७६ खेती भएको ३३.४३, सीमसार क्षेत्र ८.७५ हेक्टर र गहिराइ औषत ४.८ मिटर रहेको उल्लेख छ ।
लक्षित योजना अनुसारको परियोजना सम्पन्न भएसँगै त्यसले तालको संरक्षण र यससँग जोडिएका जैविक विविधता, जलमा आश्रीत जीवजन्तुको संरक्षण आदिमा महत्वपूर्ण योगदान पुग्ने पर्यटन व्यवसायी दामोदरभक्त थापाले बताउनुभयो ।
“परियोजना सम्पन्न भएसँगै खुम्चीएको रुपाताल थप फराकिलो बन्दै यहाँ अन्य पर्यटकीय गतिविधि पनि बढ्नेछन्”, उहाँले भन्नुभयो ।
सूर्यको किरणसँगै पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको स्थानीयवासी बताउँछन् ।
तालको मुख्य स्रोत तालवेंसी खोलाबाट वर्षात्मा बगाएर ल्याउने माटो तथा काठपातका कारण वर्षेनी छ रोपनी ताल पुरिएको अध्ययनले देखाउँछ ।
रुपातालको अवलोकनका लागि पछिल्ला समयमा पर्यटकहरू आउने क्रमसँग
आसपासका क्षेत्रमा होटेल लगायतका पूर्वाधारहरू पनि विकास हुँदै गएको छ । रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक सयौं पर्यटक रुपाताल पुग्ने गरेका छन् ।
२०५८ सालमा सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट संरक्षण र उपयोगमा जोड दिइएको छ । हाल सहकारीमा एक हजार १५ जना आवद्ध भैसकेका छन् । सहकारी अन्तर्गत माछा मार्नका लागि १० जना, चौकीदार चार जना र बैकिङ कारोबारतर्फ तीन जना कर्मचारी कार्यरत छन् । तालबाट दैनिक करिब एक लाख रुपैयाँ बराबरको माछा निकालेर विक्री वितरण गर्दै आइएको कर्मचारी रामजी अधिकारीले जानकारी दिनुुभयो ।
ताल किनाराका जंगलमा खुल्ला चिडियाखाना
रुपातालको जलाधार क्षेत्र आसपासका जंगललाई समेटेर खुल्ला चिडियाखाना सञ्चालनमा आइसकेको छ ।
पचभैया प्राणि उद्यान केन्द्रका रुपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साबिक लेखनाथ नगरपालिकाका वडा नं ११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो ।
चिडियाखाना निर्माणका लागि स्थानीयवासीको चाहना र युनाइटेड क्लबको सहयोगमा यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको थियो ।
चिडियाखानाको व्यवस्थापन लगायतका विषयमा केही समय युनाइटेड क्लब र स्थानीयवासीबीच विवाद भए पनि उक्त विवाद समाधान भइसकेको छ । युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याउँदै आएको छ ।
चिडियाखानामा सर्वसाधारणलाई अवलोकनका लागि जालीको डोम निर्माण गरी जनावर र पक्षीहरू खुल्ला छाडिएको छ । चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनाका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पक्षी तथा जनावर कक्ष बनाउने दीर्घकालीन लक्ष्यसमेत राखिएको पचभैया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष एवम् पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले बताउनुभयो ।
चिडियाखाना परिसर एवम् रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छ ।
पोखराबाट जम्मा २५ किमी टाढा रहेको यस चिडियाखानालाई गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको छ ।
यसअघि २०३४/३५ सालतिर यस क्षेत्रमा जङ्गल ध्वस्त बन्दै गएको अवस्थालाई दृष्टिगत गरी स्थानीयवासीले तत्कालीन समयदेखि नै यसको संरक्षणको पहल थालेका थिए संरक्षण थालिएको झन्डै ४५ वर्षपछि खुल्ला चिडियाखानाका रुपमा केन्द्र सञ्चालनमा आएसँगै स्थानीयवासी हर्षित बनेका छन् ।
चिडियाखानामा हाल विभिन्न २१ प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी राखिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो । यहाँ आउने पर्यटकले यहाँबाट तल रुपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् । चिडियाखाना सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिसकिएको छ । अवलोकनका लागि सर्वसाधारणलाई २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ । चिडियाखानाको डिभिजन वन कार्यालयबाट व्यवस्थापन हुँदै आएको छ ।
पछिल्लो समयमा रुपातालको माथि निर्माण गरिएको झोलुङ्गे पुल पनि यहाँको अर्को पर्यटकीय आकर्षण बन्दै गएको छ ।
पोखरा महानगरपालिका वडा नं ३१ पचभैयाको सिमलडाँडादेखि रुपा गाउँपालिका–७ भङ्गारा जोड्ने झोलुङ्गे पुल गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण भएको हो । विशेषतः विदाको समयमा पोखरा र आसपासबाट युवा युवतीहरू पुलमा पुगी तालको अवलोकन गर्ने, फोटे खिच्ने गर्दछन् । तालमाथि निर्मित झोलुङ्गे पुल, चिडियाखाना र एकैसाथ अवलोकन गर्न सकिने रुपातालका कारण पछिल्ला समयमा पर्यटकीय गतिविधिहरू बढ्दै गएको बताउँदै ढकालले यसले यस क्षेत्रको समृद्धिमा विशिष्ट योगदान गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
ताल, चिडियाखानासँगै यस आसपासका पचभैया देउराली, पचभैया कोट मङ्गलधर्म चक्र बौद्ध गुम्बा आदिले यहाँका अन्य पर्यटकीय आकर्षण हुन् ।
रुपा तालमा मोती उत्पादन गरिने
रुपा तालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यस अघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको थियो ।
सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा अनुसन्धान गरिँदै आइएकोमा यहाँका तालमा यसको उत्पादनको पर्याप्त सम्भावनालाई पुष्टि गरेको केन्द्रका प्रमुख डा. मोहम्मद इकवाल हुसेनले बताउनुभयो । यहाँका तालहरूध्ये रुपातालमा मोती उत्पादन गर्न सकिने धेरै सम्भावना रहेका कारण उक्त योजनालाई अघि बढाइने उहाँको भनाइ छ । मोती गरगहनाका साथै विभिन्न औषधिका लागि पनि प्रयोग हुन्छ ।
अद्यावधिक:
Explore • Plan • Travel


