१९ कात्तिक २०८३, राति १०:३५
ताजा अपडेटEnglish — Auto Translate
ENAuto

हेटौंडाको वस्ती विकासको इतिहासँग जोडिएको बनदेवी मन्दिर

सहज पढाइ
यो खबर साझा गर्नुहोस्
०सेयर
FacebookWhatsAppX
हेटौंडा, कात्तिक । हेटौंडा उपमहानगरपालिका वडा नं ७ नागस्वतीस्थित बनदेवी मन्दिर हेटौंडाको वस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो । हेटौंडामा वस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जंगल फडानी भएकोमा २००८ सालतिर देखि नै यहाँ बनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिदै आइएको बनदेवी तथा राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिनुभयो । किंवदन्ती अनुसार जंगल फडानी भई वस्ती बस्न थालेसँगै यहाँका स्थानीयवासी एवम् पाल्तु जनावरहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिन थालेछन् । समग्र वस्ती नै रोगव्याधीबाट ग्रसित हुन थालेसँगै स्थानीय अर्याल थरका ज्यातिषीकहाँ हेराउँदा बनदेवीको पूजाआजा गरेमा सबै समस्याबाट मुक्त भइने भन्ने कुरा आएछ । त्यस पश्चात भनिए अनुसार यही परिसरमा रहेको त्रिशुल जस्तो आकारको देखिने सालको रुख मुनी शिला स्थापना गरी बनदेवीको पूजाआजा गरिएछ । पूजा गरिएसँगै सबै किसिमका स्वास्थ्य समस्याहरू अन्त्य भएको किंवदन्ती रहेको अध्यक्ष ढकालले जानकारी दिनुभयो । त्यस समयदेखि नै यहाँ बनदेवीको निरन्तर पूजाआजा हुँदै आएको बताउँदै उहाँले यस आसपासका बहादुरगंज, राजपानी, नागस्वती, अग्राठे लगायत क्षेत्रका वासिन्दाले अत्यन्त श्रद्धा भक्तिपूर्वक नियमित रुपमा पूजाआजा गर्दै आएको जानकारी दिनुभयो । “मन्दिरमा विभिन्न भाकल सहित पूजाआजा गर्न आउनेको संख्या पनि बढ्दो छ”, उहाँले भन्नुभयो, “श्रद्धा भक्तिका साथ पुजाआजा गरिएमा मनले चिताएको पुग्ने गरेको हाम्रा प्रत्यक्ष अनुभवहरू रहेका छन् । मन्दिर परिसरमा गणेश, ऋृषेश्वर महादेव, हनुमान, राधाकृष्ण आदि देवीदेवताका मूर्तिहरू रहेका छन् । विगतमा चैते दशैंका समयमा मेला लाग्ने गरेपनि पछिल्ला वर्षमा उक्त मेला लाग्न छोडेको स्थानीयवासी बताउँछन् । चैत शुक्ल अष्टमीका रातीदेखि नवमीसम्म मेला लाग्ने गरेको र उक्त मेलाका क्रममा बलि चढाइएको बोकाको मासु प्रसादस्वरुप वरपरका सबै स्थानीयवासीलाई बाँड्ने प्रचलन रहेको थियो । यस अघि मन्दिरमा मगर समूदायले हाँस तथा कुखुरा, क्षेत्री समूदायले बोका, नेवारले राँगाको बलि दिने प्रचलन रहेको ढकालले जानकारी दिनुभयो । बडा दशैं, चैते दशैं सहित विभिन्न तिथिमिति र पर्व विशेषमा पूजाआजा हुने गरेको यस मन्दिरमा अन्य कुनै आर्थिक स्रोत नभएपनि भक्तजनबाट गरिएका दान तथा सहयोगले नियमित पूजाआजा सञ्चालन भैरहेको उहाँले बताउनुभयो । यस अघि स्थानीय गिरिराज ढकालले बनाइदिनुभएको मन्दिर भुकम्पका कारण क्षतिग्रस्त बनेसँगै स्थानीय समाजसेवी दलबहादुर खड्काले एक करोड ६४ लाख रुपैयाँ लागतमा हालको मन्दिर निर्माण गरिदिनुभएको हो । मन्दिरमा यस अघि २०८१ साल माघ १२ गतेदेखि २० गतेसम्म विशेष धार्मिक अनुष्ठान लगाइएको उहाँले बताउनुभयो । हेडौंडा महानगरपालिका वडा नं ७ का पूर्व वडा अध्यक्ष राजन थापाका अनुसार हेटौंडाको वस्ती विकासको इतिहासको साक्षी यो मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा समेत विकास भैरहेको छ । विभिन्न मनोकांक्षका साथ हेटौंडा र आसपासका विभिन्न स्थानबाट दर्शनार्थीहरूआउने गरेको उहाँले बताउनुभयो । बनदेवी मन्दिरलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्न सकिने धेरै सम्भावनाहरू रहेको उहाँको भनाइ छ । मन्दिरको दीगो र व्यवस्थित सञ्चालनका लागि अक्षयकोष बनदेवी मन्दिरको दीगो र व्यवस्थित सञ्चालनलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको छ । पछिल्ला समयमा यस क्षेत्रबाट स्थानीयवासीहरूले विभिन्न किसिमको सहयोग स्वतस्फुुर्त रुपमा सहयोग गर्ने गरेका छन् । मन्दिरको अक्षकोषमा हालसम्म २० लाख रुपैयाँ जम्मा भैसकेको अध्यक्ष ढकालले जानकारी दिनुभयो । “मन्दिरको पूजाआजा तथा सरसफाईमा मासिक न्युतम २५ हजार रुपैयाँ खर्च लाग्ने गरेको छ तर मन्दिरको आम्दानीको अन्य कुनै स्रोत भने छैन”, उहाँले भन्नुभयो, “भक्तजनको स्वतस्फुर्त सहयोगसँगै आउने दान सहयोग नै मन्दिर सञ्चालनको मुख्य आधार हो ।” मन्दिरमा नियमित पूआजा सहित दैनिक चण्डी पाठ, राधाकृष्ण मन्दिरमा विष्णु सहश्रनाम पाठ, अखण्ड दीप प्रज्वलन आदि भैरहेको उहाँले जानकारी दिनुभयो ।