१९ कात्तिक २०८३, राति ११:२१
ताजा अपडेटEnglish — Auto Translate
ENAuto
गण्डकी प्रदेश

भोटमा नुन बोक्दाको साक्षी गुरुङ सम्पदा पदमार्ग

कास्की, ४ कात्तिक । पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकास हुनुपर्ने विषय उठिरहेको बेला कास्की र लम्जुङका विभिन्न गाउँ हुँदै मनाङको तिमाङ जोडिने मार्गलाई गुरुङ सम्

भोटमा नुन बोक्दाको साक्षी गुरुङ सम्पदा पदमार्ग
गुरुङ सम्पदा पदमार्गमा पदयात्रीहरू।
सहज पढाइ
यो खबर साझा गर्नुहोस्
०सेयर
FacebookWhatsAppX

कास्की, ४ कात्तिक । पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकास हुनुपर्ने विषय उठिरहेको बेला कास्की र लम्जुङका विभिन्न गाउँ हुँदै मनाङको तिमाङ जोडिने मार्गलाई गुरुङ सम्पदा पदमार्ग घोषणा गर्दै गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेश यसको प्रवद्र्धनमा निरन्तर जुटीरहेको छ ।

सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेका बेला दुई वर्ष अघि गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोथर र मर्स्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिक रूपमा घोषणा गरिएको थियो ।

पदमार्गको अध्ययन एवं अनुसन्धानका लागि गुरुङ पर्यटन व्यवसायी सङ्घ, नेपाल गण्डकी प्रदेशको आयोजनामा पदमार्गको खोज तथा अनुसन्धान कार्य सम्पन्न पछि चरणवद्ध रुपमा प्रवद्र्धनका विभिन्न कार्यक्रम गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुभयो ।

पदमार्ग योजनामा काम गरिरहेका इन्जिनियर, अन्वेषक, जिपिएस एक्सपर्ट सञ्चारकर्मी, सङ्घका पदाधिकारी, पर्यटक पथप्रदर्शक तथा सहयोगीसहितको समूहले स्थलगत रूपमा नै खोज तथा अनुसन्धान गरी यसलाई औपचारिक रुपमा घोषणा गरेको थियो ।

अध्ययनले यो पदमार्ग सफल हुने सम्भावना उच्च रहेको निष्कर्ष निकालेको उल्लेख गर्दै उहाँले यस पदमार्गमा गर्नुपर्ने सुधार तथा निर्माण कार्यहरूको विस्तृत परियोजना प्रतिवेदन पनि तयार पारिएको बताउनुभयो ।

उहाँका अनुसार प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रूपमा रहेको यो पदमार्ग पदयात्रामा जाने जो कोहीलाई पनि मोहित बनाउन सक्नेछ । यहाँको ऐतिहासिक तथा पुरातात्विक महत्त्वलाई असर नपर्ने गरी प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानी नपुग्ने गरी यस पटकीय पदमार्गको विकास र प्रवद्र्धन गर्नुपर्ने सङ्घको जोड रहेको उहाँले बताउनुभयो ।

यस पदमार्गले दुई ऐतिहासिक विरासत बोकेको सङ्घका संस्थापक अध्यक्ष एवम् पदमार्ग प्रवद्र्धन कार्यक्रम संयोजक बोरबजङ्ग गुरुङ बताउँनुहुन्छ । यसै पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु ९गुरुङ० का पुर्खाहरू अहिलेका बस्तीहरूमा फैलिएको भनाइ रहेको उहाँले बताउनुुभयो ।

‘गुरुङ समुदायको प्ये ल्हु ताँ मा मात्रै नभई क्होलासोँथरमा विभिन्न चरणमा स्वदेशी, विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको छ’, उहाँले भन्नुभयो । क्होलासोँथरको पुरातात्विक महत्त्वका भग्नावशेषहरूको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने उहाँको भनाइ छ ।

दोस्रो ऐतिहासिक विरासतका रूपमा कास्की र लमजुङका गाउँहरूमा अझै पनि मनाङ भोटको नुन बोक्दाका कथा व्यथा सुन्न पाइने उहाँले् बताउनुभयो ।

‘अहिले खोज गरिएको यो पदमार्ग नै तत्कालीन समयको नुनको व्यापारिक बाटो भएको उजागर भएको छ’, उहाँले भन्नुभयो,‘वर्तमानमा पनि पदमार्गमा भेटिने बिसौनी तथा चौतारीहरू नुनको व्यापारिक मार्गको जीवन्त साक्षी बनेका छन् ।’

खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहना अनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरू पहिचान गरिएको उहाँले बताउनुभयो । यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने उहाँको भनाइ छ ।

पोखराबाट मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङतिङ हुँदै क्रपु डाँडा, तप्रो, क्होलोसोंथर, ठूलेक, थुर्जु, दूधपोखरी, गुरुङ देउराली (नामुन पास) डाँफेखर्क हुँदै मनाङको चामे गाउँ पालिकाको तिमाङसम्म पुग्न सकिने गरी पदमार्गको पहिचान गरिएको थियो ।

यही पदमार्गमा कास्कीका सिक्लेस, याङजाकोट, नागिधार, थाक लगायत गाउँका साथै लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, घाम्राड, टक्सार, सिउरुङ लगायत गाउँहरूबाट सुरु गरेर यिनैमध्येका विभिन्न गाउँमा आवश्यकता र चाहना अनुसार छोटो तथा लामो दूरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिने उहाँले बताउनुभयो ।

एक हजार ६ सय मिटरदेखि चार हजार नौ सय १० मिटर उचाइमा पदमार्ग

भौगोलिक अवस्थितिका दृष्टिले यो पदमार्ग समुद्री सतहबाट एक हजार ६ सय मिटर उचाइको ताङतिङदेखि सुरु भई पदयात्राको उच्चविन्दु चार हजार नौ सय १० मिटर उचाइको गुरुङ देउराली (नामुन भञ्ज्याङ) सम्म रहेको छ ।

ताङतिङदेखि पछि पदयात्रीहरूको बास तीन हजारभन्दा माथिको उचाइमा हुन्छ । ताङतिङबाट माथि गइसकेपछि तीन हजार मिटर उचाइको कर्पुडाँडादेखि पदयात्रीहरूले धेरै उकालो र ओरालो नगरी तिमाङसम्म पुग्ने संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।

पदमार्ग क्षेत्रमा नै पर्ने चार हजार पाँच सय ८५ मिटर उचाइको धार्मिक महत्त्वको दूधपोखरी यहाँको विशिष्ट धार्मिक गन्तव्य पनि हो । यहाँको दर्शन गरे चिताएको पुग्ने विश्वासका कारण यसको महत्त्व अझै चुलिएको छ ।

प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरू रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लु जस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो ।

प्रकृतिसँगै संस्कृतिलाई पनि जोड्ने यस पदमार्गको प्रवेश गर्नेदेखि पदयात्रा समाप्त गर्ने स्थानमा गुरुङ गाउँ पर्दछन् । ती गाउँहरूमा घरवास सञ्चालनमा छन् भने घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा रहेका छन् । साथै गुरुङ समुदायको गाउँ, बसोबास तथा रहनसहन पनि यहाँका पर्यटकीय आकर्षण हुन् ।

प्राचीन नुन व्यापारको मार्ग, क्होलासोंथरको ऐतिहासिकतासँगै तत्कालीन समयमा धर्मशाला र बिसौनीका भग्नावशेषले यहाँको प्राचीन गरिमा र महत्त्वलाई अझै उजागर गरेका छन्। त्यस्तै, कास्की, लमजुङ मनाङका भेडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई पनि प्रत्यक्ष देख्न र अनुुभव लिन पाइन्छ ।

जैविक विविधताले सम्पन्न

यो पदमार्ग जैविक विविधताको अध्ययन अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रको हावापानीमा पाइने औषधीजन्य वनस्पति, जीवजन्तु र चराचुरुङ्गीले पनि यहाँको महत्त्व अझै बढाएको छ ।

यस पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँचऔंले, वन लसुन जस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानी अनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू अवलोकन गर्दै हिंड्न सकिन्छ। डाँफे, मुनाल लगायत चराचुरुङ्गीको चिरविराहट सुन्दै पदयात्रा गर्न पाइनुले यहाँको महत्वलाई अझै बढाएको छ ।

यस पदमार्गमा पदयात्रासँगै कर्पुडाँडामा प्याराग्लाइडिङ, ठूलेकमा स्की खेलका साथै यससँग जोडिएका छ हजार मिटरभन्दा कम उचाइका हिमालहरूमा आरोहण तालिम समेत सञ्चालन गर्न सकिने संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।

गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले स्थलगत रूपमा गरेको खोज तथा अनुसन्धानसँगै तीनै तहका सरकार एवम् पर्यटनसम्बद्ध क्षेत्रका लागि यस पदमार्गको प्रवद्र्धन र विकासका लागि केही सुझाव समेत प्रस्तुत गरेको सङ्घका महासचिव तुल गुरुङले बताउनुभयो ।

उनका अनुसार पदमार्गमा ऐतिहासिक तथा पुरातात्विक महत्त्वका क्षेत्रहरूको रहेको तथा जैविक विविधताको भरिपूर्ण रहेकाले ती ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूमा पर्न सक्ने नकारात्मक असरहरूलाई दृष्टिगत गरी विस्तृत गुरुयोजना बनाएर त्यसैअनुसार पदमार्गको विकास तथा प्रवद्र्धन गर्नुपर्ने सिफारिस गरिएको छ ।

तीनै तहका सरकारले यस पदमार्गमा भविष्यमा सडक सञ्जालको विस्तार नगरी पदमार्गकै रूपमा विकास गर्नुपर्ने उनले बताए। पदमार्गको केही स्थानमा बाटो मर्मत गर्नुपर्ने, केही खोलामा झुलुङ्गे पुल हाल्नुपर्ने, केही स्थानका बाटोमा रेलिङ हाल्नुपर्ने उल्लेख गर्दै सङ्घले यसतर्फ यथाशीघ्र स्रोतको व्यवस्थापन गर्नुपर्ने र पदमार्गमा होटलहरूको व्यवस्था नभएको कारण हावापानी र स्थानीय संस्कृतिअनुरूपका सेल्टर हाउस बनाउनुपर्ने सुझाइएको छ ।

त्यस्तै, पदमार्गको सूचनापाटी कतिपय बिग्रिए भत्किएको तथा कतिपयमा गलत सूचना समेत रहेको भेटिएको हुँदा सूचना पाटीहरू, पथप्रदर्शन गर्ने पोललाई मर्मत तथा नयाँ स्थापना गर्नुपर्ने भनिएको छ ।

जलवायु परिवर्तन लगायत विभिन्न कारणले पानीका मुहान सुक्ने तथा भएको मूल पनि सानो भएको हुँदा ती मुलको संरक्षण तथा आवश्यक स्थानमा पानीको स्थायी व्यवस्था गर्नुपर्ने, पदमार्गमा रहेका क्होलासोंथर लगायत पुरातात्विक महत्वका क्षेत्रको उत्खनन र संरक्षणका लागि विशेष ध्यान दिइनुपर्ने सङ्घले सुझाव दिएको थियो ।

त्यसै सुझाव अनुुसार अघिल्लो वर्ष नेपाल टेलिकमका प्रविधिक, सरोकारुवाला गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि सहित उक्त क्षेत्रमा अवलोकन भ्रमण समेत गराइएको थियो ।

पदमार्ग क्षेत्रका पुरातात्त्िवक वस्तुको सुरक्षाका लागि विशेष पहल गरिनुपर्ने, पदमार्गको प्रवेशविन्दुका रूपमा रहेका गाउँमा रहेको सांस्कृतिक अवयवहरू लोप हुने अवस्थामा रहेको हुनाले तिनीहरूको संरक्षण र पुनः स्थापनाका लागि विशेष पहल गर्नुपर्ने, भिर मौरीको मह काढ्ने, राडीपाखी बुन्ने तथा पशुपालन लायत परम्परागत पेसा र जनजीवनलाई पर्यटकीय गतिविधिसँग जोडेर विकास गर्न पहल थाल्नुपर्ने सुझावमा उल्लेख छ। पदमार्गमा पशुचौपाया हिँडेमा त्यसले पदमार्गलाई चाँडो बिगार्ने भएकाले पशुचौपायाका लागि छुट्टै बाटोको व्यवस्था गर्नुपर्ने भनिएको छ ।

अद्यावधिक:

सम्बन्धित समाचार