कृषि पर्यटनबाट समृद्धिको अभियानमा लम्जुङको पुमा गाउँ
पुमा गाउँ (लम्जुङ), ४ कात्तिक । गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेशले प्रवद्र्धन गरिरहेको गुरुङ सम्पदा पदमार्ग प्रवेश गर्ने गाउँहरू मध्येको एक हो लमजुङ जिल्लाको बेशिशहर नगरपालिका वडा नं ६ स्थित पुमा गाउँ । कास्की र लम्जुङका विभिन्न गाउ

पुमा गाउँ (लम्जुङ), ४ कात्तिक । गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेशले प्रवद्र्धन गरिरहेको गुरुङ सम्पदा पदमार्ग प्रवेश गर्ने गाउँहरू मध्येको एक हो लमजुङ जिल्लाको बेशिशहर नगरपालिका वडा नं ६ स्थित पुमा गाउँ । कास्की र लम्जुङका विभिन्न गाउँहुँदै मनाङको तिमाङसम्म गुरुङ सम्पदा पदमार्ग जोडिएको छ । कृषि प्रतिको अनिच्छासँगै गाउँ तथा वस्तीहरू उजाडिदै गएका अवस्थामा यो गाउँ कृषि पर्यटनबाट समृद्धि खोज्नेतर्फ अग्रसर बनेको छ ।
स्थानीयवासीको संगठित प्रयाससँगै यहाँका ५४ घरधुरी पुमा एग्रो प्रा.लि.मा आवद्ध हुँदै बाँझो तथा प्रयोग विहिन जमिन एवम् स्थानीय जनशक्तिको अधिकत्म उपयोग गर्दै कृषि पर्यटनलाई एकिकृत रुपमा विकास गर्ने अभियानमा जुटेका हुन् ।
समुन्द्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाईमा रही अन्नपूर्ण र मनास्लु लगायत हिमश्रृङ्खलाहरूको सुन्दर दृश्यावलोकन गर्न सकिने यो गाउँमा कृषि पर्यटनका माध्यमबाट स्थानीयवासीको आयआर्जन अभिबृद्धि गराउँदै अधिकतम पर्यटकहरू आकर्षित गर्ने लक्ष्य राखिएको पुमा एग्रो प्रा.लि.का अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिनुभयो ।
पुमा गाउँमा यस अघि नै सामुदायिक होमस्टेको पूर्वाधार विकास भईसकेको बताउँदै उहाँले भौगोलिक एवम् प्राकृतिक रुपमा कृषि, पशुपालन तथा पर्यटनका लागि सम्भावनायुक्त क्षेत्र भएपनि पर्याप्त लगानी, आधुनिक कृषि प्रविधि, पूर्वाधार, बजार व्यवस्थापन तथा जनशक्ति अभावका कारण यो क्षेत्र पछि परेको उहाँले बताउनुभयो ।
“गाउँमा रहेको ठूलो भूभाग खेतियोग्य भएपनि पूर्णरुपमा उपयोग गर्न नसकिएको वास्तविकतामा यसलाई कृषि पर्यटनका माध्यमबाट उपयोग गर्न खोजिएको हो ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार पुमा एग्रो प्रालि मार्फत यहाँको करिब एक हजार ४०० रोपनी जग्गा (भुमिदान, खरीद र भाडामा लिएर) लाई चरणवद्ध रुपमा उपयोग गर्ने योजना अघि सारिएको छ ।
लम्जुङको सदरमुकाम बेशीशहरबाट जम्मा १० किलोमिटरको दुरीमा पुमा गाउँ रहेको छ ।
यहाँको जग्गालाई चरणबद्ध रुपमा उपयोग गर्दै कफी, आरुबखडा, टिमुर, तरकारी तथा अन्य स्थानीय उत्पादनको व्यवसायिक खेती विस्तार गर्ने लक्ष्य राखिएको छ । त्यस्तै मौरीपालन, लोकल कुखुरा, बाख्रा तथा दुहुनो भैसीपालन र स्थानीय उत्पादनमा आधारित भान्साघर सञ्चालन गरी उत्पादनदेखि बजारसम्मको मुल्य श्रृङ्खला निर्माण गर्ने योजना राखिएको छ ।
भूमि उपयोग योजना अन्तर्गत कफी र आरुबखडा विरुवा एक हजार रोपनीमा लगाइने बताउँदै उहाँले टिमुर र मौरीपालन दुई सय रोपनीमा गर्न लागिएको बताउनुभयो । त्यस्तै कुखुरा र पशुपालन एक सय रोपनीमा, भान्सा घर र तरकारी एक सय रोपनीमा विस्तार गरिने गुरुङले जानकारी दिनुभयो ।
यस वर्षदेखि सुरु गर्न लागिएको परियोजना अन्तर्गत उत्पादनका लागि पाँच वर्षे योजना अघि सारिएको छ । जस अनुसार संस्थाले कफी खेतीका लागि पहिलोदेखि पाँचौं वर्षसम्म क्रमशः १० हजार, २० हजार, २० हजार र ३० हजार गरी ५० हजार कफीका बोट लगाउने लक्ष्य राखेको छ ।
आरुबखडा पाँच वर्षमा हरेक वर्ष दुई/दुई हजार गरी १० हजारको संख्यामा लगाउने योजना राखेको छ भने टिमुर हरेक वर्ष चार/चार सय बोटका दरले दुई हजार लगाउने योजना छ ।
त्यस्तै पाँच वर्षमा सुरुको वर्ष ५० वटा मौरीघार वितरण गरिने र त्यस पछि तीन वर्ष १००/१०० घार तथा पछिल्लो वर्ष १५० वटा मौरी घार वितरण गर्ने योजना छ ।
लोकल कुखुरा पालनका लागि पहिलो दुुई वर्ष दुई हजार ४००, तेस्रो वर्ष तीन हजार र पछिल्ला दुई वर्ष तीन हजार ६०० संख्यामा पालिने उल्लेख गरिएको छ ।
त्यस्तै दुहुनो भैंसी दोस्रो वर्षदेखि दुई/दुई वटा र पछिल्ला दुई वर्ष तीन/तीन वटा तथा दुहुनो बाख्रा दोस्रो र तेस्रो वर्ष ३०/३० वटा चौथो र पाँचौं वर्ष ५०/५० वटा थप्ने योजना छ ।
परियोजना अन्तर्गत सबै कामका लागि चार करोड २४ लाख रुपैयाँ लागत अनुुमान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रालिका सञ्चालक सदस्य एवम् कार्यपालिका सदस्य सुकमाया गुरुङका अनुसार परियोजना अन्तर्गत कृषि पर्यटनका माध्यमबाट युवा तथा महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, कृषि उत्पादन वृद्धि, स्थानिय अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।
बाँझो जमिनको सदुपयोग, गाउँबाट हुने बसाई सराई न्यूनिकरण गर्दै शहर झरेका स्थानीलाई गाउँमा बसाई फर्काउन्े अभियानका साथ यो पहल गरिएको उहाँले जानकारी दिनुभयो ।
गाउँमा २०७५ सालदेखि घरवास कार्यक्रम पनि सञ्चालन भैरहेको उल्लेख गर्दै उहाँले परियोजनाको सुरुवातीमा भान्छा घर निर्माण गरी त्यसलाई सञ्चालन गरिने बताउनुभयो ।
संंस्थाले आगामी पाँच वर्षमा २७ जनालाई स्थायी र धैरैलाई अस्थायी रोजगारी प्रदान गर्ने तथा स्थानिय युवा र महिला कृषकहरुका साथै समुदायलाई समेत उद्यमसँग जोड्ने लक्ष्य लिएको छ ।
यस परियोजनालाई दीर्घकालिन रुपमा कृषि, पशुपालन, मौरीपालन, कृषि प्रशोधन, भान्सा घर तथा होमस्टे सञ्चालन र पर्यटनलाई एकै ठाउँमा जोडिएको नमुना एकिकृत कृषि उद्यमको रुपमा विकास गर्ने परिकल्पना रहेको उहाँको भनाइ छ ।
अध्यक्ष गुरुङका अनुसार यस गाउँमा स्थानीयले विगत चार वर्ष यता आरु बखडाको वाइन, जुस, जाम आदि बनाउने प्रयास थालिसकेका छन् । परियोजना अन्तर्गत आरुबखडाको खेती बिस्तार गर्दै यसबाट बन्ने वाइन, जुस, जाम लगायतका परिकारहरू बनाइने उहाँले बताउनुभयो । आरुबखडा सहित यसबाट बन्ने परिकारका साथै स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी बजारमा प्रतिस्पर्धी र उच्च मुल्य प्राप्त गर्ने कृषि उद्यम निर्माण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
गाउँमा आउने पर्यटकलाई स्थानीय उत्पादनकै परिकार खुवाउनुका साथै यहाँबाट जाँदा लैजाने कोशेली पनि गाउँमा नै तयार गर्ने लक्ष्य राखिएको छ ।
गाउँमा उत्पादित आरुबखडा, कफी, टिमुर, तरकारी, मह, दुध, मासु, तथा स्थानीय कुखुराको बजारीकरणलाई पनि व्यवस्थित बनाउने गरी सोच अघि बढाइएको उहाँले बताउनुभयो ।
कृषि पर्यटनका माध्यमबाट स्थानीय उत्पादन बृद्धि हुनुका साथै रोजगारी सृजना, स्थानीय आय वृद्धि, बाँभ्mाो जमिनको प्रयोग र गाउँको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय कृषक तथा समुदायलाई आधुनिक कृषि प्रविधि, सीप र उद्यमशिलतासँग जोड्नुका साथै कृषि, पशुपालन, मौरीपालन र ग्रामिण पर्यटनलाई जोडेर कृषि पर्यटनको नमुना गन्तव्य विकास गर्ने लक्ष्य लिइएको छ ।
परियोजना सम्पन्न भएपछि प्रालि मार्फत हुने नाफाको २०% रकमको कल्याणकारी कोष स्थापना गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यो कोष एकल महिला/पुरुष, गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षा, स्वास्थ्य र क्रियाकाजमा खर्च गरिने उहाँले बताउनुभयो । बाँकी ८०% मुनाफा गाउँमा बस्ने प्रत्येक घरधुरीलाई दामासाहीले पुमा गाउँ टोल सुधार समितिको सिफारिसमा वितरण गरिनेछ ।
परियोजना आर्थिक रुपमा सम्भावनायुक्त, सामाजिक रुपमा उपयोगी, वातावरणीय रुपमा दिगो र स्थानिय विकासका दृष्टिले महत्वपूर्ण रहेको हुँदा सम्बन्धित सरकारी निकायहरूबाट आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास लिइएको उहाँले बताउनुभयो ।
पुमा गाउँ टोल सुधार समितिका अध्यक्ष गणेशकुमार गुरुङका अनुसार पुमा गाउँ कृषि पर्यटनसँगै धार्मिक पर्यटनमा पनि उत्तिकै सम्भावना बोकेको गाउँ हो । गाउँको सिरानमा रहेको कन्यादेवी मन्दिर यहाँको प्राचीन धार्मिक महत्वको तीर्थस्थलका रुपमा रहेको उहाँले बताउनुभयो ।
कृषि पर्यटनको विकाससँगै यस मन्दिरको धार्मिक महत्वलाई समेत जोड्दै धार्मिक पर्यटनको गन्तव्यका रुपमा पनि विकास गर्न सकिने बताउँदै उहाँले मन्दिरमा पूजापाठ गर्नाले मनोकामना पूरा हुने विश्वास रहेको जानकारी दिनुभयो । उक्त विश्वास व्यवहारमा नै परिणत भएको प्रत्यक्ष देखे भोगेको उहाँको अनुभव छ ।
यहाँ घरवासमा आउने पर्यटकलाई स्थानीयले गाउँमा नै उत्पादन भएका परिकार खुवाउने गरेका छन् । कोदोको ढिँडो, रोटी, लोकल कुखुराको मासु, स्थानीय मदिरा, रातो भट्ट, मकै, फर्सी, बन्दा, काउली, ब्रोकाउली, आलु लगायत कृषिजन्य उत्पादन गाउँमा नै फलाउने गरेका स्थानीयले मौसम अनुसार यही वरपर पाइने कुरिलो, निउरो, सिस्नो लगायत परिकार समेत खुवाउने गरेका छन् ।
गाउँको माथि रहेको बाघ बाँध्ने ढुट्टा यहाँको अर्को आकर्षण भएको उहाँले बताउनुभयो । प्राचीन कालदेखि नै जमिनमा गाडिएको यो ढुङ्गा जमिन माथि नै १० फुट अग्लो रहेको छ ।
यस ठाउँबाट लमजुङ हिमाल, अन्नपूर्ण, मनास्लु लगायतमा हिम श्रृङ्खलाहरू नाङ्गो आँखाले देख्न सकिन्छ । नगरपालिकाको चार लाख रुपैयाँ सहयोगमा गाउँबाट बाघ बाँध्ने ढुङ्गासम्म बाटो लगिएको छ ।
कृषि पर्यटनसँगै यहाँको प्रकृति, संस्कृति र धार्मिक सम्पदालाई पर्यटकीय रुपमा उपयोग गर्ने आँफूहरूको दीर्घकालीन सोच रहेको उहाँको भनाइ छ । –––
अद्यावधिक:
Explore • Plan • Travel


