१९ कात्तिक २०८३, राति १०:३७
ताजा अपडेटEnglish — Auto Translate
ENAuto
गण्डकी प्रदेश

पोखरामा कात्तिक १८ देखि राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने

सहज पढाइ
यो खबर साझा गर्नुहोस्
०सेयर
FacebookWhatsAppX

पोखरा । पोखरामा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ। गण्डकी प्रदेश टेनिस संघको आयोजनामा यही कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

नेपाल टेनिस संघको स्वीकृति तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा देशभरबाट ८ देखि १८ वर्षमुनिका ४३ जना गल्र्स तथा ब्वाइज खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न उमेर समूहमा सिंगल्स तथा डबल्स विधाका खेल सञ्चालन गरिनेछन्।

प्रतियोगिताअन्तर्गत यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेता खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ।

राष्ट्रियस्तरमा प्रतिभाशाली जुनियर खेलाडीको पहिचान, टेनिस खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गण्डकी प्रदेश टेनिस संघले जनाएको छ।

संघले स्थापनाकालदेखि नै जुनियर टेनिस प्रशिक्षण तथा खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्दै आएको छ। संघका अनुसार निरन्तर प्रशिक्षण र कार्यक्रमका कारण पछिल्लो तीन वर्षमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन्। त्यस्तै, केही खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन्।

जुनियर टेनिस प्रशिक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले संघले विभिन्न विद्यालयमा समेत प्रशिक्षण सञ्चालन गर्दै आएको छ। प्रतिभावान बालबालिकाको पहिचान गरी गुणस्तरीय प्रशिक्षण, प्रतियोगितामा सहभागिताको अवसर र आवश्यक सहयोग उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइने संघले जनाएको छ।

पोखरालाई टेनिस खेलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजन ट्रयाङ्कुलिटी स्पाले गरेको छ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। प्रतियोगिताले जुनियर खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थ र प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले प्रतियोगितालाई सफल बनाउन सञ्चारमाध्यम, खेलकुदकर्मी, खेलप्रेमी तथा सम्पूर्ण सरोकारवालासँग सहयोग र सहकार्यका लागि आग्रह गर्नुभएको छ ।

सम्बन्धित समाचार