२० कात्तिक २०८३, बिहान १२:०८
ताजा अपडेटEnglish — Auto Translate
ENAuto
समाज

मौषम प्रतिकुल बन्ने पूर्वानुुमानले कतै चिन्ता कतै चटारो

सहज पढाइ
यो खबर साझा गर्नुहोस्
०सेयर
FacebookWhatsAppX
हेटौंडा,  हेटौंडा उपमहानगरपालिका वडा नं १० हटिया फाँटका फणिराज अधिकारीको खेतमा धान राम्रैसँग पाकेको छ । पाकेको धान काट्न भने उहाँ मौषमको पूर्वानुमानका कारण दुुविधामा हुुनुुहुन्छ ।
राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले सम्भावित वर्षाबाट धानबालीमा क्षति पुग्न सक्ने भन्दै मंगलबारसम्म धान भित्र्याउन किसानलाई आग्रह गरिरहेका अवस्थामा अधिकारी जस्तै धान पाकेका तर काटिनसकेका यहाँका धेरै किसानहरू धान काट्ने कुरामा दुविधामा परेका छन् । 

नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार भोलिदेखि देशका विभिन्न भागमा मौसम प्रतिकूल हुने सम्भावना रहेको छ ।
यही सम्भावनालाई दृष्टिगत गरी यहाँका हटिया, चौघडा, कमाने लगायतका फाँटमा कतिपय किसानलाई काटेको धान थन्क्याउने चटारो छ भने कतिपयलाई नकाटेको धान पानीका कारण झन् बिग्रने पो होकी भन्ने चिन्ताले सताएको छ ।

“खेतमा धान पाकेर झुरिइसकेको छ, मौषम बिग्रने हल्ला छ, काटौं की नकाटौं”, अधिकारीले भन्नुभयो, “मैले १२ कठ्ठा क्षेत्रफलमा धान लगाएको छुु, काटौं की नकाटौं भन्ने कुराले छटपटी भएको छ ।”
बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने अनुमानका कारण त्यसको प्रभावले बुधबारदेखि मौसम प्रतिकुल बन्ने सम्भावना देखाइएको छ ।
पूर्वअनुमान अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने र छिटपुट वर्षा हुन सक्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना हुने अनुमान गरिएको छ ।

बिहीबारदेखि मौसम प्रणालीको प्रभाव थप क्षेत्रमा फैलिने अनुमान गर्दै विभागले शुक्रबार र शनिबार यसको प्रभाव अझ बढ्न सक्ने जनाएको छ ।
सम्भावित मौषमलाई दृष्टिगत गर्दै कृषकलाई धान काट्ने र भित्र्याउने काममा ढिलाइ नगर्न सुझाव दिदै केन्द्रले मौसममा सुधार आएपछि प्राविधिकको सल्लाहअनुसार कृषि कार्य गर्न सुझाएको छ ।
केही वर्ष अघिसम्म नेपालमा मौषमको पूर्व अनुमान नमिल्ने गरेको भएपनि पछिल्ला समयमा पूर्वानुमान ठ्याक्कै मिल्न थालेको कृषकहरू बताउँछन् ।
यस अघि गरिएका पूर्व अनुमानहरू मिलेका कारण मौषमलाई ध्यान दिएर मात्रै काम गर्नुपर्छ भन्नेमा अधिकांश किसानहरू रहेको अर्का स्थानीयवासी हरि अधिकारीले बताउनुभयो ।
हटिया फाँटमा केही वर्ष अघिसम्म पूरै फाँटमा नै धान खेती हुुने गरेको ८० वर्षीय श्रीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
पछिल्ला वर्षमा बढ्दो बस्ती विकासले खेतीयोग्य जमिनहरू घडेरीमा परिणत हुुँदै गएको उहाँले बताउनुभयो ।
“पहिले यो क्षेत्रको अधिकांश क्षेत्रमा धान खेत मात्रै थियो”, उहाँले भन्नुभयो, “केही वर्ष यता विशेष गरी बाटो आसपासका क्षेत्र घरहरूले भरिन थालेका छन् । वर्षेनी खेतीयोग्य जमिनहरू बस्तीमा परिणत भैरहेका छन् ।”

यस क्षेत्रमा सिंचाइको पनि राम्रो सुविधा भैरहेको उल्लेख गर्दै उहाँले गर्न सकेमा राम्रो उत्पादन लिन सकिने अवस्था रहेको बताउनुभयो ।
यस क्षेत्रमा बहुुबाली लगाउने गरेको जानकारी दिदै उहाँले धानपछि तोरी या आलु त्यस पछि मकैं जस्ता बाली लगाइने भएका कारण वर्षैभरी केही नकेही खेती हुुने गरेको बताउनुभयो ।
पछिल्ला समयमा स्थानीय युवाहरू अधिकांश रोजगारीका लागि बिदेश जान थालेपछि भने जनशक्तिको अभाव हुने गरेको उहाँको अनुुभव छ ।
उहाँका अनुुसार पहिला पहिला काम गर्ने जनशक्ति यही आसपासमा पाइने भएपनि पछिल्ला वर्षमा तराईका विभिन्न स्थानबाट आउने व्यक्तिहरूलाई लगाएर खेतीबाली लगाउने तथा भित्राउने गरिएको छ । 
धान भित्राउनका लागि तराईमा विभिन्न क्षेत्रबाट एक स भन्दा बढी मजदुरहरू हटिया क्षेत्रमा रहेको उहाँले बताउनुुभयो ।
दुई वर्ष अघिसम्म तराईबाट धान भित्राउने समयमा युवाहरू आउने गरेको भए पनि पछिल्ला वर्षमा त्यहाँबाट आउनेमा युवाहरूभन्दा पनि वयस्कहरूको संख्या बढी हुन थालेको छ ।
मौषमको पूर्व अनुमानका कारण धान काटेकालाई भित्राउन हतारो भएको बताउँदै उहाँले नकाटेको धान भने काट्नका लागि डराउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

सम्बन्धित समाचार